काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्लाई ध्यानाकर्षण गराउनु भएको छ। सभापति लामिछानेले आज राजदुत सोङ्सँग भेटवार्ता गरेर चिनियाँ ठेकदारले विस्तार गरिरहेको नारायणगढ–बुटवल सडकखण्डको अबस्थाबारे ध्यानाकर्षण गराउनु भएको हो।
लामिछानेको सचिवालयका अनुसार नारायणगढ–बुटवल सडकखण्डको दुरावस्थाबारे ध्यानाकर्षण गराएको र राजदूतले सोङले आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ।
पार्टी कार्यालय वनस्थलीमा भएको भेटमा सभापति लामिछानेसँगै प्रतिनिधि सभा सदस्य तथा पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र प्रतिनिधि सभा सदस्य तथा पार्टीको पूर्वाधार विकास विभाग प्रमुख निशा डाँगीलगायतको सहभागिता थियो।
‘निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ। थप ढिलाइ नहुन चालिनु पर्ने कदम र निर्वाह गरिनुपर्ने भूमिकाबारे विस्तृत कुराकानी भयो। आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाउनु भयो।’ भेटवार्तापछी रास्वपाले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ।