काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरी आयोगले अपराह्न नामावली प्रकाशन गर्ने कार्यसूची छ।
आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरी बिहीबार नामावली प्रकाशन गर्न लागिएको हो।
उम्मेदवारी परेका दुई जनाविरुद्ध उजुरी परेको छ। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका तर्फबाट अपांगता समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रका दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ।
निर्वाचनमा भाग लिन नचाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन्। शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
आयोगको कार्यतालिका अनुसार भोलि २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ ।
२०७२ मा संविधान जारी भएपछि निर्वाचित भएका राष्ट्रिय सभा सांसदहरूको पदावधि गोला प्रथाबाट तय गरिएको थियो । गोलाप्रथामा त्यतिबेला ६ वर्ष अवधि पाएका सदस्यहरूको समय आगामी फागुन २० मा सकिन लागेको हो । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । रिक्त १९ पदका लागि ५२ जनाको उम्मेदवारी दर्ता भएको छ ।