काठमाडौं । अधिवक्ता रूपेश कोइरालालाई कोशी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ । विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार(आज) मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो।
मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम कोइरालालाई मुख्य न्यायाधिवक्ता नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
मुख्य न्यायाधिवक्ताले प्रदेश सरकारको कानुनी सल्लाहकार भएर काम गर्नुपर्छ । नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालाले आज नै पद तथा गोपनीयताको शपथ लिनुहुने छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठका अनुसार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ ।
नेपाली कांग्रेसनिकट अधिवक्ता कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार हुनुहुन्छ । कानुन व्यवसायी कोइराला यसअघि २०७८ चैत्रमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको नियुक्त हुनुभएको थियो।
हालका मुख्यमन्त्री केदार कार्कीले आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कोइरालालाई कानुन विज्ञ नियुक्त गर्नुभएको हो ।