काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ।आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले १९ सिटमध्ये १० मा नेपाली कांग्रेस, ६ वटा नेकपा (माओवादी केन्द्र), दुई वटा नेकपा (एकीकृत समाजवादी) र एउटा जनता समाजवादी पार्टी (जसपा) नेपालले उम्मेदवारी दिनेगरी टुङ्गो लागेको बताउनुभयो।
गठबन्धनले क्लस्टर भागबन्डा पनि टुंग्याएको छ।जसमा कोशी प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने भएको छ भने महिलातर्फ माओवादीको उम्मेदवारी रहने छ। यस्तै मधेस प्रदेशको खुलातर्फ कांग्रेसले उम्मेदवारी दिने तयारी हुँदा महिलातर्फ जसपाले उम्मेदवार खडा गर्नेछ।
यसैगरी गण्डकीमा कांग्रेसले खुला र महिलातर्फ उम्मेदवारी दिने छ भने माओवादीले अपाङ्ग कोटामा उम्मेदवारी दिने छ। लुम्बिनीमा कांग्रेस महिलातर्फ उम्मेदवारी दिँदा माओवादीले खुलातर्फको उम्मेदवार बनाउने छ। यस्तै सुदूरपश्चिममा कांग्रेस खुला र अपाङ्गतर्फ उम्मेदवारी दिने छ भने माओवादीले महिलातर्फको उम्मेदवारी दिने छ ।
कांग्रेस नेता रमेश लेखकका अनुसार बागमती र कर्णाली प्रदेशमा क्लस्टरको अन्तिम टुंगो लागिसकेको छैन। एकीकृत समाजवादीले २ सिटमा चित्त नबुझाएपछि बाग्मती र कर्णालीको क्लस्टर टुंगिन बाँकी रहेको हो।अहिले कांग्रेसले खुला र महिलातर्फको उम्मेदवारी दिने सम्भावना छ। यस्तै माओवादीले अपाङ्ग र एकीकृत समाजवादीले दलित पाउने छ।
यस्तै कर्णालीमा कांग्रेसले दलित, माओवादीले खुला र एकीकृत समाजवादीले महिलातर्फ उम्मेदवार दिने समझदारी बनेको छ। स्रोतका अनुसार राष्ट्रपतिले मनोनीत गर्ने सदस्यमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो ।