काठमाडौं। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरू उम्मेदवार छान्ने चटारोमा व्यस्त छन्। सत्ता गठबन्धनका दलहरू दिनहुँ जसो बालुवाटारमा बैठक बसेर सीट बाँडफाँटको विषय टुंग्याउने कसरत गरिरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि आन्तरिक गृहकार्य गरिरहेको छ।
एक्लै चुनाव लड्दा आफू शून्य हुने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनसँग मिलेर जाने प्रस्ताव गर्नुभएको थियो। सत्ता गठबन्धनको बैठकमै पुगेर ओलीले राष्ट्रिय सभामा आफूहरूलाई शून्य नबनाउन आग्रह गर्नुभएको थियो। सत्तारुढ दल पनि एमालेलाई तीनदेखि चार सिटसम्म दिने मोटामोटी तयारीमा थियो बाट पछाडि हटेका हुन्। तर एमालेलाई समेत निलाएर लैजान खोज्दा सत्ता गठबन्धनभित्र विवाद भएपछि अहिले सत्ता गठबन्धनका दलहरूबीचमै सिट बाँडफाँट हुने भएको छ।
प्रष्ट दुई कित्तामा उभिनुपर्ने भए पनि सत्तापक्ष र प्रतिपक्षबीच स्वार्थपूर्ण रुपमा राष्ट्रियसभा सदस्यमा गर्न खोजिएको भागबण्डाको प्रयास अन्ततः विफल भयो। सत्ता गठबन्धनले सदाशयतापूर्वक एउटा वृहत् लोकतान्त्रिक धारणाका साथ सत्ता र प्रमुख प्रतिपक्षका बीचमा मिलेरै जान सकिन्छ कि भन्ने रहे पनि सम्भव नभएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो।
यता, एमालेले पनि राष्ट्रिय सभाका १९ वटा सीटमै उम्मेदवारी दिने निर्णय गरिसकेको छ। महासचिव शंकर पोखरेलका अनुसार २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रमका दिन एमालेले विभिन्न कलस्टरका १९ वटै सिटमा उम्मेदवारी दिने छ।
सत्तारुढ दलहरूका बीचमा नै सीट बाँडफाँट गरेर जाने सहमति भएपनि आ–आफ्नै दाबीका कारण कसले कति पाउने भन्ने अझैं टुँगो लागेको छैन। आज बिहान बालुवाटामा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका छन्।
बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन्। बैठकमा उपस्थित एक नेताका अनुसार कांग्रेसले सिट बढी मागेको र साना दल नाउपा र जनमतले पनि भाग खोजेका कारण सिट मिलाउन समस्या भएको छ।
प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताउनुभयो। उहाँका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरूको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ।
फागुन २० मा राष्ट्रिय सभामा एमालेका ९(एक मनोनीत सहित),कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ। जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४,गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुनेछ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सीटको निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी दर्ताको कार्यक्रम छ।सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा एकातिर रहेपछि एमालेले एक्लै उम्मेदवारी दिए पनि १९ वटा सिटमा एउटा पनि जित्ने अवस्था छैन।