काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं हिरासतमा पुगेर छुटाउनुभएको छ । आज माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोज्दा मन्त्री अनिता यादवसहित राउत पक्राउ परेका थिए ।
गृहमन्त्रीको रोहबरमा हिरासतमुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दै राउतले राज्यले आफूहरुमाथि विभेद गरेको आरोप लगाउनुभयो । सांस्कृतिक प्रदर्शन भएकाले निषेधित क्षेत्रमा पनि जान दिनुपर्ने उहाँको तर्क थियो ।
उहाँले विगतदेखि नै आफूहरुले जनवरी १ मा ‘धोति दिवस’ मनाउँदै आएको बताउनुभयो । तर, मधेशी भनेर विभेद गरिएको उहाँको दावी थियो ।
मन्त्री आफैं हिरासत पुगेर छुटाएको विषयमा पत्रकारले प्रश्न गर्दा उहाँको जवाफ थियो, ‘हाम्रो सर्त नै मन्त्री आएर जवाफ दिनुपर्छ भन्ने थियो, त्यसैले आउनुभयो ।’