काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बालकुमारीमा भएको घटनाको निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा प्रमुखहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले गृहमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतसँग घटनाबारे जानकारीसमेत लिनुभएको हो ।
प्रधानमन्त्रीले घटनाको छिटो र निष्पक्ष छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ । यो घटनाको सत्यतथ्य छानबिन गर्न गृहमन्त्रालयले हिजो नै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।
गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । कोरिया जानका लागि भाषा परीक्षामा सहभागी हुन माग राखेर युवाहरुले हिजो प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा दुई जना युवाको ज्यान गएको थियो । साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको थियो ।