Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

'नयाँ पुस्तासँग कांग्रेस अभियान' आवश्यक - अजयबाबु शिवाकोटी

'नयाँ पुस्तासँग कांग्रेस अभियान' आवश्यक - अजयबाबु शिवाकोटी

  • शुक्रवार, पौष १३ २०८०

  • 1.2K
    SHARES

  • 'नयाँ पुस्तासँग कांग्रेस अभियान' आवश्यक - अजयबाबु शिवाकोटी

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा शुक्रबार पनि बसेको छ। बैठकमा सरकारमा सामेल मन्त्रीहरूका कार्यसम्पादनका समीक्षा भएको छ। केन्द्रीय सदस्यहरूले पनि धारणा राखेका छन्।

    केन्द्रीय सदस्यहरूलाई धारणा राख्न सभापति शेरबहादुर देउवाले पाँच मिनेट समय दिनुभएको छ। केन्द्रीय सदस्यहरूले एजेन्डामा नभएका राष्ट्रिय सभा चुनावजस्ता केही विषय उठाएका छन् । यही क्रममा अजयबाबु शिवाकोटीले नयाँ पुस्तासँग कांग्रेस अभियानको आवश्यकता रहेको बताउनुभएको छ।

    ‘नयाँ पुस्तालाई कसरी संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीले सबैभन्दा बढी बहकाइ रहेको छ? हो यही कुराको उत्तर खोज्ने प्रयास यो बैठकमा हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘फगत सूचना प्रविधिको प्रयोग गरेर कांग्रेसलाई रक्षात्मक बनाइयो भन्ने कुराको अर्थ रहन्न।’

    पार्टीका गतिविधि, आचरण र व्यवहारले विवेकी पुस्ता हामीबाट टाढा भइरहेको उहाँले बताउनुभयो। ‘पार्टीमा नयाँ पुस्ताको प्रवेश न्यून किन छ? किन हाम्रा कार्यक्रममा युवाहरूको सङ्ख्या घट्दो छ समीक्षा गर्न पर्दैन?,’ उहाँले भन्नुभयो। विवेकसँगै विद्रोही चेत भएको र तीक्ष्ण बुद्धिको नयाँ पुस्ता प्राथमिकतामा हो भने समुदायमा कांग्रेस जस्तै नयाँ पुस्तासँग कांग्रेस अभियान पनि तत्काल ल्याइयोस्।’

    उहाँले १४ औं महाधिवेशनपछि पार्टीका कामकारबाहीको पनि समीक्षा हुनुपर्ने बताउनुभयो।

    ‘चार वर्षे कार्यकालको आधा समय व्यतीत गर्दा विधान कार्यान्वयनमा यो कार्यसमिति चुक्दै आएको छ। पार्टीको साउनमा सम्पन्न बैठकले तय गरेको कार्य तालिकाअनुसार विधान कार्यान्वयनमा मूल नेतृत्वले गर्नुपर्ने कामको स्मरण गराउँदै समय सीमा समेत तोकेको थियो। तर निर्णयको पूर्ण कार्यान्वयनमा उदासीनता आज पनि उस्तै छ,’ उहाँले भन्नुभयो। काम गर्ने हुटहुटी भएका केन्द्रीय सदस्य कामविहीन रहेको उहाँले बताउनुभयो ।

    ‘केही विभागीय प्रमुख विभाग बिस्तारका लागि सभापतिको मुख ताकेर बसेका छन्। दोहोरो जिम्मेवारीमा नभएका साथीलाई पार्टी काममा लगाउँदा त्यसले पार्टीलाई नै फाइदा पुग्छ होला भन्ने कुरामा चाँडो ध्यान जानुपर्छ,’ उहाँले भन्नुभयो । उहाँले कोषाध्यक्ष नियुक्तिमा ढिलाइ भइरहेको पनि बताउनुभयो।

    उहाँले सरकारका कामकारबाही पनि समीक्षा हुनुपर्ने बताउनुभएको छ ।  ‘एक वर्षे कार्यकाल प्रधानमन्त्रीले पूरा गरेका छन्। हाम्रा मन्त्रीहरूले पनि केही समयमा पूरा गर्नु होला। प्रधानमन्त्रीले अपेक्षाअनुसार काम गर्न नसकेको र अब क्रम भंग हुने पुरानै कथन दोहोर्‍याउनुभएको छ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले अपेक्षाअनुसारको काम हुन नसकेको भन्नुको मतलब सरकारको मुख्य हिस्सेदार दल कांग्रेसका मन्त्रीहरूले समेत काम गर्ने नसकेको आरोप पनि हो।’

    राष्ट्रिय सभाको लागि मापदण्ड बनाउन पनि उहाँले माग गर्नुभएको छ । ‘सबैको चासो र जोड राष्ट्रिय सभाको उम्मेदवार र उम्मेदवारका लागि मापदण्ड बनाउनु पर्छ भन्नेमा छ। के यस्तो मापदण्ड बनाउँदा केन्द्रीय कार्यालय परिसरमा भेट भएका द्वन्दमा दुवै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीजस्ता द्वन्दपीडित र अपाङ्गता भएका साथीले मैले पनि न्याय पाए भन्ने गरी बन्छ कि यहाँ भित्र बैठकमा भएकाहरूको लागि मिल्ने गरी मात्र बनाइन्छ?,’ उहाँले प्रश्न गर्नुभयो।


    शुक्रवार, पौष १३ २०८००८:२०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij