Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

अवसर नपाएका योग्य व्यक्तिलाई राष्ट्रियसभामा लैजानुपर्छ : डा. डिला संग्रौला पन्त

अवसर नपाएका योग्य व्यक्तिलाई राष्ट्रियसभामा लैजानुपर्छ : डा. डिला संग्रौला पन्त

  • बिहिवार, पौष १२ २०८०

  • 719
    SHARES

  • अवसर नपाएका योग्य व्यक्तिलाई राष्ट्रियसभामा लैजानुपर्छ : डा. डिला संग्रौला पन्त

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले आसन्न राष्ट्रिय सभाको चुनावमा उम्मेदवार चयन गर्नका लागि स्पष्ट मापदण्ड बनाउनु पर्नेमा जोड दिनुभएको छ ।

    नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजदेखि सुरु भएको बैठकमा धारणा राख्दै पन्तले पार्टीले राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा पटक–पटक अवसर पाएकालाई भन्दा पनि नयाँ र उर्जावानलाई स्थान दिन जरुरी रहेको बताउनुभयो ।

    यसैगरी अहिले जिल्ला–जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ताहरुमा निराशा रहेको बताउँदै त्यसलाई चिर्नका लागि अब विशेष संकल्प गरेर गुटबन्दी अन्त्य गर्दै जनजीविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा पनि जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अहिले नेपाली कांग्रेस, केन्द्र, प्रदेश र स्थानीय सरकारमा रहँदा पनि जनताले अपेक्षा गरे अनुसार हामीले डेलिभरी दिन सकेका छैनौं । यस बीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ वर्ष पूरा गरिसकेको छ । यो एक वर्ष साँच्चिकै लाभदायक रह्यो की, केही साथीहरु मन्त्री हुनुभयो, सेवा सुविधा लिनुभयो भन्ने मात्र भयो, यस विषयमा पनि हामीले केन्द्रीय कार्यसमितिमा मिहिन ढंगले छलफल गर्न जरुरी छ ।’

    जाजरकोट भूकम्पको बारेमा धारणा राख्दै केन्द्रीय सदस्य पन्तले अहिले खास गरेर सुत्केरी महिला, बालबालिका, वृद्धवृद्धाहरु जाडोको कारण अत्यन्तै गाह्रो साह्रो स्थितिमा रहेका र कतिपयको ज्यान गइ सकेको अवस्थामा भूकम्प पीडितहरुको जीवन रक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
    उहाँले अस्थायी टहरा बनाउन कांग्रेस पार्टी र तरुण दलले चलाएको अभियान प्रशंसनीय रहेको उल्लेख गर्दै अब अस्थायी टहरा बनाउने मात्रै हैन, घर पुनर्निर्माणका लागि पनि सरकारले स्पष्ट मापदण्ड बनाएर विशेष पहल गरेर छिटो भन्दा छिटो अनुदान रकम निकासा गर्न पनि माग गर्नुभयो ।

    यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्र पनि अहिले अस्तव्यस्त बनेको अवस्थामा पदाधिकारी नियुक्ति लगाएतका कुरामा राजनीतिक हस्तक्षेप भन्दा पनि विज्ञ व्यक्तिहरुलाई पदाधिकारी बनाउने काममा अब नेपाली कांग्रेसले पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।

    साथै लामोसमयदेखि शान्ति प्रक्रियाका कामहरु थाँती रहेकाले त्यसलाई अघि बढाउनका लागि नेपाली कांग्रेसले पहल गर्नुपर्ने र संविधान संशोधन लगायतका कुराहरुमा पनि स्पष्ट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै आसन्न महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिमा दिएका सुझावहरु समेटिनेमा आफू आशावादी रहेको पनि उल्लेख गर्नुभयो ।

     


    बिहिवार, पौष १२ २०८००५:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij