काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द (विप्लव) समूहप्रति कडा रुपमा प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिनुभएको छ । ६५औं प्रहरी दिवसका अवसरका प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले विप्लव समूहको नाम नलिइकनै विप्लव नेकपाप्रति लक्षित गर्दै भन्नुभयो, “संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आमनागरिकका हक–अधिकार निर्भिकताका साथ प्रयोग हुने वातावरणमा अड्चन पैदा गर्ने कोसिस गरिरहेका छन् ।”
त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झनौता नगर्ने गृहमन्त्रीको भनाइ छ । गृहमन्त्री थापाले अपराधको प्रवृत्ति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्नसमेत प्रहरीलाई निर्देशन दिनुभएको छ । नेपालमा राजनीतिक नारा बोकेर विप्लव समूह भूमिगत छ । सरकारले सो समूहमाथि प्रतिबन्ध लगाएको छ ।