काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । प्रचण्डलाई भेट्न कँडेल समूह बिहान खुमलटार पुगेको थियो । भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे जानकारी गराइएको छ ।
कँडेलसहित मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए । मुख्यमन्त्री शाही समूहले भने हिजो नै प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेर विकसित घटनाक्रमबारे जानकारी गराएका थिए ।
मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले कर्णालीका मुख्यमन्त्री नेताहरुलाई काठमाडौं बोलाएका थिए ।
मुख्यमन्त्री शाही पक्षका नेताहरु बुधबार नै काठमाडौं आएका थिए भने कँडेल पक्षका नेताहरु हिजो आएका हुन् । तर, दुवै समूहलाई एकै ठाउँ राखेर छलफल गर्नेबारे केही टुंगिएको छैन ।