काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले मंसिर १४ देखि पुस १ सम्म गरेको सम्मृद्धिका लागि संकल्प यात्राले सम्मृद्धिको प्रयासलाई असाधारण बल दिएको बताउनुभएको छ । साथै उहाँले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताउनुभयो ।
‘गलत भाष्य निरर्थक र असान्दर्भिक तुल्याएको छ’, ओलीको भनाइ छ । उहाँले राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ ।
ओलीले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताउनुभयो । आइतबार पार्टी कार्यालय च्यासलमा झुलाघाट–चिवा भञ्ज्याङ संकल्प यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले यात्राका अनुभवबारे सुनाउँदै पातमा समेत खाना खाएको बताउनुभयो ।
‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उहाँले भन्नुभयो, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो ।’
यात्राका क्रममा देखिएको उत्साहले पार्टीले लिएको उदेश्यलाई असाधारण ढंगले बल दिएको भन्दै उहाँले देशको विविधतामा ठुलो लुब्रिकेन्टस दिएको बताउनुभयो ।