काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालयमा स्वतः चाप कम भएर जाने बताउनुभएको छ।
आज काठमाडौं महानगरपालिका– ३ स्थित शिवपुरी माध्यमिक बिद्यालयको ७२ औंं बार्षिकोत्सव समारोहमा मेयर शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, ‘मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविष्यको जिम्मा म लिन सक्छु’ भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विस्वस्त बनाउनु पर्ने बताउनुभएको छ ।
महानगरका तर्फबाट शिक्षा समिति, विभाग र नगरसभाले निर्णय गरेर महानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण सामूदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणको जिम्मा लिएको र विद्यालयले व्यवस्थापकीय पक्षमा कुनै कमजोरी हुन नदिने मेयर शाक्यको भनाइ छ ।