काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएकोले एक आपसमा नेता कार्यकर्ताहरु मिल्नुपर्ने बताउनु भएको छ।आज पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र एउटा दोधारमा उभिएकोले काँग्रेसमा नेता कार्यकर्ताहरु मिल्नै पर्ने दाबी गर्नुभयो।
सभापति देउवाले अहिले काँग्रेसले नेतृत्वदायी भुमिकामा बसेर काम गर्न जरुरी रहेको बताउनुभयो। उहाँले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशीतामा आधारित व्यवस्था भएको बताउनुभयो।
पार्टीलाई अझै सुदृढ गर्दै तल्लो स्तरबाटै पार्टीलाई पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्नुपर्नेमा जोड दिँदै देउवाले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुबिच मेलमिलाप हुन आवश्यक रहेको पटकपटक बताउनु भयो।
उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा हाम्रा साथीहरुबिच मेलमिलाप हुन जरुरी छ। अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जित र हार हुन्छ। आज जित्नेले पनि भोलि सधैँ जितिरहिन्छ भन्ने हुँदैन। जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको मनोमानिल्यलाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’