काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताउनुभएको छ । आज नेपाल प्रहरीको ६५ औं प्रहरी दिवस समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ ।
‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौ । प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनता नभड्काउनसमेत आग्रह गर्नुभयो ।
सरकारले भ्रष्टाचारविरूद्ध शून्य सहनशिलता नीति लिएको पनि प्रधानमन्त्रीले बताउनुभयो । केही तत्वहरू गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको आफूले सुनेको उहाँको भनाइ छ । गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाउनुभएको थियो ।
उक्त प्रमाण आफूसँग भएको पनि भट्टराईले बताएपछि नेकपा र कांग्रेसले विज्ञप्ति निकालेर प्रमाण पेश गर्न चुनौती दिइरहेका छन्। तर भट्टराईले उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गर्नुभएको छ ।