काठमाडौं।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले दिएको विवादास्पद अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ।
क्रिश्चियन नमान्ने संविधानविरोधी हुन् र संविधान विरोधीलाई देशद्रोही करार गरेर झ्यालखानामा हाल्ने किराँतीको चेतावनीले यो देशका ९० प्रतिशत भन्दा बढी वैदिक सनातन र ओमकार धर्म मान्ने मानिसहरुको भावनामाथि ठेस पुगेको भन्दै विरोध शुरु भएको छ।
मन्त्री किराँतीले राज्यको जिम्मेवार पदमा बसी आमनागरिक माथि गलत सन्देश प्रवाह गरेको आरोप लागेको छ।संविधानको धारा ४ ले सनातनदेखि चलिआएको धर्म–संस्कृतिको संरक्षण गर्ने दायित्व सरकारलाई सुम्पिएको छ।
सनातनदेखि चलिआएको धर्म–संस्कृति भन्नाले हिन्दू,बौद्धलगायत ओमकार परिवारले मान्ने धर्म तथा स्वयं मन्त्री किराँतीको सम्प्रदायले मान्ने किराँत र प्रकृतिलगायतका परम्परागत धर्म–संस्कृति हुन्। तर,मन्त्री किराँतीले संविधानको धारा ४ नमान्न उक्साएर ‘देशद्रोह’ गरेको आरोप लागेको छ ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालका अनुसार कुनैपनि धर्मका कारण राज्यव्यवस्था खतरा पर्नु भन्ने सन्देश गलत छ। धर्मलाई व्यापारको रुपमा विकास गरिँदै लगेकोले यसले कालान्तरमा समस्या सिर्जना गर्ने देखिन्छ।
व्यक्तिका रुपमा सुदन किराँतीलाई जुनसुकै धर्म मान्ने स्वतन्त्रता छ। आफूले मान्ने धर्मको प्रचार गर्न पनि पाउँछन्। तर, मन्त्रीका रुपमा निश्चित धर्मको समर्थन वा विरोध गर्ने हक किराँतीलाई नभएको हिन्दुवादीहरुको धारणा छ।
विश्व हिन्दु युवासंघका अध्यक्ष ऋषिकेशजंग शाहका अनुसार नेपालको धर्मलाई समाप्त पार्न इसाइकरणको हाबी भइरहेको छ। यता, राष्ट्रिय क्रिसियन महासंघका कार्यवहाक अध्यक्ष उद्वव चिमोरियाले मन्त्री किराँतीले बोलेको विषयलाई विवादमा ल्याउन आवश्यक नरहेको बताउनुभयो। उहाँले नागरिकको धार्मिक स्वतन्त्रतामाथि कसैले खेलबाड गर्न नमिल्ने स्पष्ट पार्नुभयो।
मन्त्रीको लहडपूर्ण अभिव्यक्तिको असर सिंगो धार्मिक समुदायमा पर्न दिनुहुँदैन। मन्त्री किराँतीले सार्वजनिक रुपमा क्षमायाचना गर्लान् पनि। तर, त्यो मात्रै पर्याप्त हुँदैन। आफूलाई समेत धार्मिक विवादमा तान्ने मन्त्री किराँतीलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने आवाज उठेको छ ।
हिन्दु धर्मावलम्बीहरुको पवित्रस्थल पशुपतिनाथमा क्रिसियन समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तिलाई नियुक्त गरिएको भन्दै चर्को आलोचना भएको छ । यता, क्रिसियन समुदायका व्यक्तिहरुसँग सम्पर्क गर्दा उहाँहरुको फोन उठेन ।