काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनहरूले आन्दोलन गरेका छन् । बिहीबार उनीहरूले बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।
विरोध प्रदर्शनमा सहभागीहरूले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर्’ लगायतका प्लेकार्ड बोकेर नारा जुलुस गरेका थिए ।
बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्विकार्नेहरूलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएको थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको देशभर विरोध भइरहेको छ ।
विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरू समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताउनुभयो ।
उहाँले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गर्नुभयो । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जसले क्रिश्चियनलाई स्विकार्दैन, उनीहरू सबै जेल जान योग्य छन्, संविधान विरोधी हुन् भनेर जुन बोल्नुभयो, नेपालमा सबै क्रिश्चियन विरोधी त छैनन्, क्रिश्चियन नबन्ने जति देशद्रोही हुन् भन्ने कुरा के बुझेर भन्नुभयो । सामाजिक सद्भाव बिगार्ने काम गर्नुभयो । ‘
उहाँले धार्मिक क्षेत्रमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्ने र धार्मिक क्षेत्र पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइनु नहुने बताउनुभयो । ‘ धार्मिक क्षेत्रमा पार्टीका नेता, कार्यकर्ता पठाउने, कमिसन खाने, ठेक्कापट्टामा भाग लिने काम भएको छ । शक्तिपीठहरूमा गैरधार्मिक व्यक्तिहरूको नियुक्ति बन्द गर्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अध्यक्षता पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को बैठकले बुधबार मात्रै पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा लक्ष्मी पुनलाई नियुक्त गरेको थियो । अहिले सो नियुक्ति पनि विवादित बनेको छ ।