Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

समयसीमाभित्रै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सक्न सेनालाई राज्यव्यवस्था समितिको निर्देशन

समयसीमाभित्रै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सक्न सेनालाई राज्यव्यवस्था समितिको निर्देशन

  • बुधवार, पौष ४ २०८०

  • 474
    SHARES

  • समयसीमाभित्रै काठमाडौं–तराई द्रुतमार्ग निर्माण सक्न सेनालाई राज्यव्यवस्था समितिको निर्देशन
    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौं–तराई-मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई  निर्देशन दिएको छ । 
     
    सिंहदरबारमा आज बसेको समिति बैठकले समयसीमाभित्रै काठमाडौं–तराई द्रुतमार्ग निर्माणको सबै काम (शून्य बिन्दुदेखि निजगढसम्म) सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार फास्ट ट्र्याकका विषयमा प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, वन तथा वातावरणमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्यसचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसहितको बैठक छिट्टै डाँकेर छलफल गरिने निर्णय भएको छ ।
     
    द्रुतमार्ग निमार्णका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउन पर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोगहरू समयमै उपलब्ध गराउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने, द्रुतमार्ग निर्माणका सम्बन्धमा विभिन्न चरणमा आवश्यक पर्ने अन्तरनिकाय समन्वयको सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक सहयोग उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरिएको सभापति खतिवडाले जनाउनुभयो ।
     
    यस्तै राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा पूरक वातावरणीय प्रभाव मूल्यांकन समयसीमा तोकी उक्त अवधिभित्र स्वीकृत गरी रुख कटान तथा जग्गा प्राप्ति लगायतका कार्यलाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण गरिदिन वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालय लगायतका सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने, राष्ट्रिय गौरवको आयोजनाहरूलाई समयमै सम्पन्न गर्नका लागि सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरिएको छ ।
     


    बुधवार, पौष ४ २०८००५:४०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij