काठमाडौं । बैतडीको झुलाघाटबाट सुरु भएर १८ औं दिनमा पाँचथरको चिवाभन्ज्याङ पुगेको नेकपा एमालेको संकल्प यात्रा सम्पन्न भएको छ । पार्टीलाई जनतामाझ बलियो बनाउन र उनीहरूका सुझाव संकलन गरी समस्या समाधानमा जोड दिन सुरु गरिएको यात्रा सफल भएको एमालेले दाबी गरेको छ । संकल्प यात्रा भव्य र उपलब्धिपूर्ण रहेको भन्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लाखोँ जनताको सहभागिता रहेको दाबी गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि समृद्धिका लागि संकल्प यात्रा शत प्रतिशत सफल भएको दाबी गर्नुभयो । उहाँले अब देशको राजनीति यसैगरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन भन्ने निष्कर्ष निस्किएको बताउनुभयो । अब देशको राजनीतिलाई सही बाटो र निकास दिनुपर्ने बताउँदै ओलीले अलमलमा देशको समय खेर फाल्न नहुनेमा जोड दिनुभयो । एमाले चुनौतीहरूको सामना गर्दै अरूले सोच्न नसक्ने काम गर्न सक्छ भन्ने अभियानले पुष्टि गरेको ओलीको भनाइ थियो ।
एमालेले संकल्प यात्राले निकै उचाइ लिएको दाबी गरिरहँदा विभिन्न प्रतिक्रियाहरू पनि आउन थालेका छन् । नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारीले कुनै दल नेता घुम्दैमा समृद्धि आउँछ भन्नु गलत हुने बताउनुभयो । जबसम्म यो देशका राजनीतिक दलहरू एक ठाउँमा आउँदैनन् तबसम्म विकास र समृद्धि कल्पनामा मात्रै हुने उहाँको तर्क छ ।
राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले एमालेको संकल्प यात्राले राष्ट्रिय रुपमा कुनै प्रभाव नपर्ने बताउनुभयो । नेकपा एमालेका कार्यकर्ताहरूलाई उत्साहित पार्ने काम भएको हुनसक्ने बताउँदै उहाँले राष्ट्रिय सन्देशको कल्पना गर्न नसकिने बताउनुभयो ।
राजनीतिक दलका अभियानहरू नितान्त कार्यकर्तालाई उत्साहित बनाउने तरिकाले निर्देशित हुन्छन् । यस्ता अभियानले खर्च समेत बढाएका हुन्छन् । पछिल्लो समय जाजरकोटमा गएको भूकम्प, मुलुकको खस्किँदो अर्थतन्त्रमा दलहरू एकताबद्ध हुन जरुरी छ । यो अवस्थामा तडकभडक भन्दा संयमित भएर अघि बढ्ने बेला भएको छ ।