काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको जग मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताउनु भएको छ। आज २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताउनु भएको हो।
प्रधानमन्त्री दाहालले सरकारले स्थानीय तहमा वित्तीय हस्तान्तरणको विषयलाई अझ प्रभावकारी बनाइ स्थानीय तहलाई संविधानको मर्म र भावनाअनुरुप श्रोत साधनको व्यवस्था र स्थानीय सरकारको मान्यताअनुसार अधिकार सम्पन्न तुल्याउत थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनु भयो।
उहाँले संविधानले परिलक्षित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन संघीय कानूनहरुको निर्माण आफ्नो पहिलो प्राथमिकताको विषय भएको बताउनुभयो।उहाँले संघीय कानूनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
प्रधानमन्त्री दाहालले पछिल्लो समय काठमाडौं महानगरपालिकाले गरेका प्रगतिशील कामहरु आफूले गम्भीरता पूर्वक नियालिरहेको बताउनु भयो।
उहाँले महानगरले शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास,सार्वजनिक शौचालयहरुको निर्माण र व्यवस्थापन,सांस्कृतिक सम्पदाहरुको संरक्षण,लागुऔषध, सुर्ति, चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति र रोजगारी सिर्जनाका क्षेत्रमा महत्वपूर्ण कदम चालेको बताउनु भयो।