काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १११.२० अंकले बढेको छ । यो सँगै नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ।
बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो।
आइतबार १२ बजेर ९ मिनेटमा तेस्रो सर्किट ब्रेक लागेपछि तीन घण्टा अघि नै बजार बन्द गरिएको हो । बजार खुलेदेखि नै उत्साहजनक रुपमा बढेपछि तीन पटकसम्म सर्किट ब्रेक लागेर ६ प्रतिशतले बजार बढेपछि कारोबार बन्द गरिएको हो ।
आइतबार बजारमा ४८ करोड २४ लाख रूपैयाँको कारोबार भएको छ। नौ मिनेट मात्रै कारोबार भएकोले अघिल्लो दिनकोभन्दा कम रकमको कारोबार भएको हो । अघिल्लो दिन एक अर्ब ७७ करोड रूपैयाँको सेयर कारोबार भएको थियो।