काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले विभिन्न ७ वटा एजेन्डा लिएर सडक संघर्षमा उत्रिने भएको छ।आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आन्दोलनसम्वन्धी मस्यौदा समितिको प्रस्ताव परिमार्जनसहित पारित गरेर यस्तो निर्णय लिएको हो।
राप्रपाले राजसंस्था पुृनःस्थापना, हिन्दू राष्ट्रको पुनःस्थापना, संघीयता र धर्मनिरपेक्षता खारेजीलगायतका माग अघि सार्दै ‘नागरिक आन्दोलन’ मा उत्रिन लागेको हो। पुस र माघमा आन्दोलनका लागि वार्म अप गर्ने र फागुनपछि काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने मस्यौदा समितिले पेश गरेको प्रस्तावमा उल्लेख छ।
केन्द्रीय कार्यसम्पादन समितिले पारित गरेको प्रस्ताव आगामी पुस १, २ र ३ मा काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा पेश गरिनेछ। केन्द्रीय समितिले पारित गरेपछि दुई चरणको आन्दोलनमा राप्रपा होमिनेछ। राप्रपाले आगामी पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवका रुपमा सबै तहमा मनाउने निर्णय पनि गरेको छ ।
यसैगरी राष्ट्रियसभाको निर्वाचनमा पार्टी सहभागी हुने तथा यस सम्बन्धमा अन्य दलसँग संवाद गर्न वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ। इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट तयारी गर्न हेमजङ गुरुङलाई जिम्मा दिइएको छ।