काठमाडौं। रुकुम पश्चिमको सोतीमा अन्तरजातीय विवाहको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या घटनाको मुद्दाको बहस सकिएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा आज बहस सकिएको हो।
आज सुरुमा प्रतिवादीका कानुन व्यवसायीले बहस गरेका थिए। त्यसपछि जाहेरीकर्ताका कानुन व्यवसायीले समेत बहस सकेका हुन्।आइतबारदेखि सुरु भएको नियमित सुनुवाइअन्तर्गत अभियोजनकर्ता (सरकारी पक्ष) र जाहेरीकर्ता (पीडित पक्ष)को बहस गरेका थिए।
जाहेरीकर्ताका तर्फबाट बहस गरेका अधिवक्ता आरसी गौतमले आज आफूहरुले जबाफी बहस सकेको बताउनुभयो। जबाफी बहस सकिएपछि न्यायाधीश केसीले केही बेरमा फैसला आउने भनेर बताएको गौतमले जानकारी दिनुभयो।
१० जेठ २०७७ मा जाजरकोटको रानागाउँका २१ वर्षीय नवराज विक साथीसहित आफ्नी प्रेमिका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी युवतीसँग विवाहको कुरा गर्न पुगेका थिए।
दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै सोती गाउँका स्थानीयले नवराज सहित उनका साथीलाई लेखेटेर हत्या थिए। उक्त घटनामा ६ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए। मृतकहरुको शव भेरी नदीमा भेटिएको थियो।