काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताउनु भएको छ ।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन यूएईको दुबई जानुभएका प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल पुनर्गठनबारे गठबन्धनभित्र छलफल नै नभएको बताउनुभएको हो ।
उहाँले मन्त्रिमण्डल पुनर्गठन बाहिर हल्ला फिजाउनका लागि मात्रै भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो दुबई भ्रमणका क्रममा ३१ जना छुटेकोप्रति दुःख व्यक्त गर्नुभयो ।
उहाँले उडान दुई घण्टाअघि सार्दा यात्रु छुट्छन् भन्ने जानकारी भएको भए तोकिएको समयमै आफू जाने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले समग्रमा कोप–२८ मा नेपालको तर्फबाट महत्त्वपूर्ण प्रस्ताव र कुरा राखेको बताउनुभयो ।