काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपांगमैत्री नीति, नियम र कानुन बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आइतबार ३२ औँ अपांगता भएका व्यक्तिहरूको दिवसका सन्दर्भमा मन्त्री ज्वालाले सरकारले अपांगता भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्ने गरी नीति नियमहरू ल्याउने गरी काम गरिरहेको बताउनुभयो ।
उहाँले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमा समेत अपांगतामैत्री कार्यक्रम ल्याएर अपांगता भएकाहरुको एजेन्डाहरुलाई सम्बोधन गर्ने कुरामा प्रतिबद्ध रहेको बताउनुभयो ।
मन्त्री ज्वालाले सार्वजनिक यातायात, सडक र पुलहरूलाई समेत अपांगतामैत्री बनाउने विषयमा आफ्नो मन्त्रालयले छलफल गरिरहेको बताउनुभयो । उहाँले मुलुकको समग्र भौतिक पूर्वाधारलाई अपांगतामैत्री बनाउने विषयमा सरकार गम्भीर भएर लागि रहेको बताउनुभयो । उहाँले सरकारले बनाउने १६ औं योजनामा पनि अपांगता भएकाहरुको माग सम्बोधन गरिने बताउनुभयो ।
‘अहिलेसम्म अपांगतामैत्री बन्न नसकेका नीति, नियम र कानुन अपांगमैत्री बनाउन सरकार प्रतिबद्ध छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समेत अपांगतामैत्री बनाएर अपांगता भएकाहरुको एजेन्डालाई सम्बोधन गर्ने कुरामा पनि सरकार प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो ।