काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धनको सरकार आएपछि मुलुकको विकास अवरुद्ध भएको र अराजकता मौलाएको टिप्पणी गर्नुभएको छ ।
एमालेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आज दैलेखको राकम कर्णालीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकार हटेपछि देशमा अराजकता छाएकाले अब एमालेको एकल सरकार आवश्यक रहेको जिकिर गर्नुभयो।
गठबन्धन सरकारका कारण व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको तर प्रतिगमनको कुरा गर्नेहरू भने देशद्रोही भएको बताउनु भयो । प्रतिगमनतर्फ फर्किन खोज्नेहरू देशद्रोही र लोकतन्त्र विरोधी भएको उहाँको आरोप थियो ।
ओलीले लोकतान्त्रिक गणतन्त्रको विरोधमा बोल्नेहरू नेपाल र नेपालीको हितविपरीत भएको जिकिरसमेत गर्नुभयो। उहाँले विभिन्न प्रकारका भ्रमहरू फैलाएर मुलुकको एकता बिथोल्न खोज्नेहरूप्रति सजक रहनुपर्ने र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो।