काठमाडौं । मिसन ग्रासरुटपछि नेकपा एमालेले थालेको बैतडी झुलाघाटदेखि चिवाभञ्ज्याङ पदयात्रा आजबाट शुरु भएको छ । एमालेले यो यात्राको सन्देश जनताको पक्षमा पार्टी छ र सरकारमा गलत मान्छेहरुको सहभागिता बढ्यो भन्ने रहेको बताएको छ । अहिलेको यो विषम परिस्थितिमा एमाले अभियानलाई कतिपयले बेमौसमी बाजाको समेत संज्ञा दिएका छन् । तर, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनताको विश्वास आर्जन गर्न र सम्बन्ध बिस्तार गर्दै जनजागरणको अभियानलाई मजबुत बनाउने अभियानको लक्ष्य रहेको छ ।
अभियानमा सहभागी रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सरकारलाई खबरदारी गर्नु आफूहरुको प्रमुख एजेण्डा रहेको दाबी गर्नुभयो । पछिल्लो समय खस्किएको अर्थतन्त्र, बढिरहेको ऋणप्रति सरकार गम्भीर बन्न नसकेकोले अब विकल्प खोज्नुपर्ने पक्षमा एमाले रहेको ओलीको भनाइ छ ।
नेकपा एमालेले मेचीकाली पदयात्रा चलाइरहँदा पार्टी पंक्तिका सबै नेता, कार्यकर्ताहरुको चित्त बुझाउन सकेको छैन । एकलौटी रुपमा अगाडि बढेको ओली नेतृत्वका कारण नेता डा. भीम रावल ओझेलमा पर्दै आएका छन् । रावललाई पार्टीले कुनैपनि जानकारी नदिएकोले उहाँ अभियानमा सहभागी बन्नुभएको छैन ।
राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले जनतासँग जाने अवस्था भए–नभएकोबारे एमालेले मुल्यांकन गर्न नसकेको बताउनुभयो । पटकपटक जनतासँग गइरहेको एमालेप्रति जनताको थप वितृष्णा पैदा हुनसक्ने खतरा समेत रहेको उहाँको बुझाइ छ ।
नेपालका राजनीतिक दलका अभियानले जनताका मुद्धा भन्दापनि पार्टीको प्रचारलाई प्राथमिकतामा राखेको पाइन्छ । शक्ति प्रदर्शन, जुलुसबाहेक नागरिकका पीडामा मल्हम लगाउने खालका योजना कुनै दलहरुले अंगिकार गर्न सकेनन् । निर्वाचनमा ल्याइएका घोषणापत्रहरु जनताले पढेर सुनाउँदा ५ प्रतिशतपनि सम्बोधन नभएको पक्कापक्की छ । यस्ता निरर्थक अभियानले जनतालाई भने केही दिने छैन ।