काठमाडौं । पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरता र व्यवस्था माथिको प्रहार विद्यमान दलहरूका कारण नै रहेको विश्लेषण हुन थालेको छ । संविधानमा लेखिएका प्रावधानमाथि नै दलका नेताहरूले मनपरी गर्दा सडक शक्ति सलबलाउन थालेका छन् । एकजना व्यक्तिले आह्वान गरेको आन्दोलनले सरकार त्रासमा परिरहेका बेला व्यवस्थाको जग हल्लिन थालेको भन्दै चिन्ता र रोष प्रकट हुन थालेको छ । राजनीतिक विश्लेषक भेषराज आचार्यका अनुसार नेताको अकर्मण्यताका कारण पछिल्लो परिस्थिति सिर्जना भइरहेको छ । संविधानमा लेखिएका विषयको ठिक उल्टो बाटोमा दलका नेताहरू हिँडिरहेको घिमिरेको आरोप छ ।
एकपटक पुनः व्यवस्थामाथि खतराको परिस्थिति सिर्जना भइरहेको भन्दै एमाले सांसद ठाकुर गैरेले सरकार जिम्मेवार बन्नुपर्ने बताउनुभयो । अहिलेको सरकारले व्यवस्था विरोधी अवाञ्छित गतिविधिमा ध्यान नदिएको भन्दै थप मलजल गरिरहेको गैरैको दाबी छ ।
राप्रपाका नेता एवं सांसद दीपकबहादुर सिंहले संघीयताले नागरिकका भावनालाई समेट्न नसकेको आरोप लगाउनुभयो । पछिल्लो समय राजसंस्थाको पक्षमा माहौल बन्दै गएको बताउँदै उहाँले जनता जतिबेला पनि सडकमा आउन तयार रहेको उहाँको भनाइ छ । छोटो समयमा जनताले संवैधानिक राजतन्त्रको पक्षमा बोल्नु भ्रष्टाचार र बेथितिको उपज भएको सिंहले बताउनुभयो ।
माओवादी केन्द्रका नेता मंगल प्रजापतिले जनतालाई काठमाडौं ल्याएर बिचल्लीमा नपार्न दुर्गा प्रसाईंलाई चेतावनी दिनुभएको छ । नेपाली जनताको अर्बौँ रकम तिरेर राजालाई घरमै लगेर राख्न उहाँको सुझाव छ ।
व्यवस्थाका विरुद्ध नागरिकले आन्दोलन गर्ने वातावरण सिर्जना भइरहेका बेला दलहरू सचेत हुन जरुरी रहेको छ । मुलुक विकासको बाधक व्यवस्था नभएर दल र तीनका नेताको प्रवृत्ति हाबी भएको देखिन्छ । कतिपय ढंगले यो प्रणालीले नै नागरिकलाई अराजक र भ्रष्टाचारी बनाइरहेको तथ्य फेला परेका छन् । यसमा सरकार गम्भीर बन्न जरुरी छ ।