काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर अर्थात् आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आज (मंसिर १० गते) देखि सर्वसाधारणका लागि ११ लाख ४१ हजार २५० कित्ता शेयर निष्कासन गरेको हो । जहाँ सर्वसाधारणहरूले एक सय रुपैयाँ प्रतिकित्ता दरले न्यूनतम १० कित्ता देखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात् आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
जहाँ कम्पनीले आफ्नो जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३७ हजार ५०० कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले २७ लाख ५० हजार रुपैयाँ बराबरको २७ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीका लागि र ६८ लाख ७५ हजार ५०० बराबरको ६८ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ।