काठमाडौं। नेकपा एमालेका नेता एवं सांसद ठाकुर गैरेले गणतन्त्रविरुद्ध आन्दोलन गर्नेहरु अरु कसैबाट प्रायोजित रहेको आरोप लगाउनु भएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता गैरेले गणतन्त्रविरुद्ध प्रायोजित आन्दोलन चलिरहेको आरोप लगाउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘जनताको अवस्था बदल्नका लागि लोकतान्त्रिक गणतन्त्र समस्या नै होइन। वर्तमान संविधानको रक्षा र कार्यान्वयनबाट नै जनताको अवस्था बदल्न सकिन्छ। यसमा दुबिधा पाल्नु जरुरी छैन । आम जनतामा आत्मविश्वास पैदा गर्ने र सकारात्मक बाटोमा लैजाने विचारको नेतृत्व एमालेले गर्नेछ। व्यवस्थाविरोधी आन्दोलन प्रायोजित कुरा हो।’
नेता गैरेले आफ्नो संविधान र व्यवस्था विरुद्धको विषयमा सहमत हुन नसक्ने जिकिर गर्नुभयो। उहाँले थप्नुभयो,‘दल र नेताप्रति अविश्वास होला तर व्यवस्था र संविधानप्रति अविश्वास छैन। दुई तिहाइ बहुमतबाट संविधान नै परिवर्तन गर्न सकिन्छ। जनतासँग जोडिएका मुद्दा जसले उठाए पनि बहस छलफल गर्न सकिन्छ। तर संविधान र व्यवस्था विरुद्धको विषयमा सहमत हुन सकिँदैन ।’
यस्तै उहाँले दुर्गा प्रसाई कतैबाट सञ्चालित, प्रायोजित र नियोजित अभियानमा रहेको आरोप लगाउनुभयो। अर्को प्रसंगमा गैरेले पोखरा र भैरहवाको एयरपोर्ट हचुवामा बनाएको नभई सरकारको असक्षमताका कारण सञ्चालन हुन नसकेको आरोप पनि लगाउनु भयो ।