काठमाडौँ । सहयोगी विनै प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफल आजका लागि सकिएको छ । अरु तयारीका साथ भोली बस्ने गरी आजको छलफल सकिएको हो ।
‘वान टु वान’ भनिएको छलफलमा हिजो र अस्ति जस्तो सहयोगी भने नराखिएको बताइएको छ । करिब डेढ घण्टा चलेको द्विपक्षीय आजको छलफलमा तिक्तता, असमझदारी मेटाएर सहमतिको विन्दु खोज्नेबारे सघन सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँले वार्ता सकारात्मक दिशामा अघि बढेको र विषयले प्रवेश पाएको जानकारी दिदै आजबाट विषयमा आधारित भएर छलफल सुरु भएको छ र संवादलाई निरन्तरता दिन भोलि पनि बैठक बस्ने सहमति भएको बताउनुभयो ।
आइतबारको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन र जनार्दन शर्मा समेत साक्षीका रूपमा उपस्थित रहनुभएको थियो । बैठक सकिएपछि उनीहरू सम्मिलित कार्यदल गठन भएको हल्ला बाहिरिएको थियो । त्यसप्रति अध्यक्ष प्रचण्ड ‘संवेदनशील’ रहेको थापाको भनाई छ ।
बैठकअघि दुई अध्यक्षबीच स्थायी कमिटी बैठक दुईदिन पर धकेल्ने समझदारी भएको थियो । बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।