गुल्मी। नेपाली काँग्रेसका युवा नेताहरुले पार्टीको नेतृत्व फेरेर देशको अवस्था फेर्ने अठोट व्यक्त गर्नु भएको छ। नेपाली काँग्रेस गुल्मीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै काँग्रेसका महामन्त्री गगन कुमार थापा, प्रभावशाली नेता डा. चन्द्र भण्डारी लगायतले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।
उहाँहरुले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधार तर्फ लाग्नु पर्ने बताउनु भयो।महामन्त्री थापाले मुर्ति चोर्नेले हाम्रो धर्म जोगाईदिन्छ भन्दै भ्रममा परेकाहरुलाई काँग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याउनु भयो ।
उहाँले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरु प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दावी गर्नुभयो ।
महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गर्नुभयो। उहाँले काँग्रेस भित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथी हेर्ने प्रबृत्ति रहेकोले अवदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धती बसाल्नु पर्नेमा जोड दिनुभयो ।
अर्का प्रभावशाली नेता डा. भण्डारीले पनि काँग्रेसको र गणतन्त्रको विकल्प नभई बुढा नेताहरुको विकल्प खोज्ने बेला भएको धारणा राख्नुभयो। उहाँले उमेरका कारण धेरै काममा समस्या हुने गरेको उदाहरण दिँदै विकल्प खोज्नेहरुको भावना अनुसार आफूहरुले काम गर्न सक्ने दावी गर्नुभयो।
गुल्मीका सांसद समेत रहनु भएका नेता भण्डारी गत फागुन ३ गते आगलागीमा परी घाइते भएपछि पहिलो पटक हिजो गृहजिल्ला आउनु भएको हो । उहाँले घाइते भएर मृत्युसँग अस्पतालको शैयामा छट्पटाईरहेका बेला गुल्मेली जनताको सम्झनाले आफूलाई जुरुक्क उठाएको अनुभव पनि सुनाउनु भयो । गुल्मी काँग्रेसको जिल्ला सम्मेलनमा भोली बन्दसत्र चल्ने सचिव जगदीश भट्टराईले जानकारी दिनुभयो ।