काठमाडौं। गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानअन्तर्गत घोषित आन्दोलनका थप कार्यक्रम निस्तेज पार्ने नाममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गरेको आरोप लागेको छ। बिहीबार राति पत्रकार सम्मेलन गरी श्रीलंकाको हिसाबमा अगाडि बढ्नुपर्ने प्रसाईंको आह्वानपछि सरकारको ध्यानाकर्षण भएको हो।
आज काठमाडौंका विभिन्न स्थानमा रहेका प्रसाईं समर्थकहरुलाई प्रहरीले विभिन्न ठाउँमा रोकेको थियो। आन्दोलन थप सशक्त रुपमा अगाडि बढ्ने भएपछि सरकार त्रासमा परेको राजनीतिक विश्लेषक प्राडा गोविन्दमान सिंह कार्कीको भनाइ छ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री एवं सांसद धवलशमशेर जबराले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनमा आफ्नो पार्टीको नैतिक समर्थन रहेको बताउनुभएको छ। राप्रपाले दुर्गा प्रसाईंको आन्दोलनमा कुनै कार्यकर्तालाई नरोकेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
यता, लघुवित्त संघका अध्यक्ष जगत पोखरेलले प्रसाईंको आन्दोलनको उद्देश्य जे भएपनि ऋण मिनाहा गर्नेबारेको एजेण्डा सम्भव नहुने बताउनुभयो। मुलुक चल्नका निम्ति आर्थिक सूचकहरु चलायमान हुन जरुरी रहेको भन्दै उहाँले वित्तिय अराजकता निम्तिने खतराप्रति सचेत गराउनुभएको छ।
माओवादी केन्द्रका नेता एवं सांसद महेन्द्र शाहीले लोकतान्त्रिक व्यवस्थामा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता सबैलाई भएको बताउनुभयो। तर, राजा फर्काउने कुरा असम्भव र समय खेर फाल्ने विषय मात्रै रहेको बताउँदै उहाँले ऊर्जाशील श्रम शक्तिलाई दुरुपयोग गर्ने काम गर्न नहुनेमा जोड दिनुभयो।
आज प्रहरीले तीनकुने क्षेत्रमा पैदल हिँडिरहेकादेखि चिया पसल, होटलमा बसेर खाइरहेकालाई धरपकड गरेको थियो। बाक्लो संख्यामा उपस्थित सुरक्षाकर्मीले शंकास्पद भन्दै खानतलासी गरेका थिए। प्रसाईंको आन्दोलनलाई सरकारले नै बढावा दिएको पनि आरोप लागेको छ । एकजना व्यक्तिको आन्दोलनलाई अतिरञ्जना फैलाउन नहुने विश्लेषकहरुको सुझाव छ।