काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षमा देशले ठुलो उपलब्धी हासिल गरेको दाबी गर्नुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले शान्ति सम्झौताको यो अवधीमा देशले केही पनि पाएन भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको जिकिर गर्नुभयो।
संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया चाँडो टुंग्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले भन्नुभयो,‘१७ वर्ष यता देशमा केही पनि भएन त ? हामीले जनतालाई सधैंभरि निराशा मात्र बाँड्नुहुँदैन । मुलुकमा एकात्मक राज्य प्रणालीको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । दुई आवधिक निर्वाचनमार्फत तीन तहको सरकार बन्यो । हतियार र सेना समायोजन भइसकेको छ । मुलुक लोडसेडिङमुक्त भएको छ, बिजुली बेच्न खोजिरहेका छौं । प्रत्येक वडा कार्यालयसम्म कच्ची सडक पुगेको छ । जुन रुपमा हुनुपर्थ्र्यो, त्यो नभएको चाहिँ यथार्थ हो । अब मुलुकलाई सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समाजवादी बाटोमा हिँडाउन बाँकी छ।’
पौडेलले विचार, लक्ष्य र दृष्टिकोण नै नभएका व्यक्तिहरुले समाजमा भड्काव सिर्जना गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘मुलुकमा आलोचनाको स्वतन्त्रता छ । तर मंसिर ७ गते नै उनीहरुले राजालाई नारायणहिटीमा लगेर कसरी राख्न सक्छन् ? व्यवस्था नै बदल्न संगठित शक्ति चाहिँदैन ? हावाको तालमा व्यवस्था फेर्दिन्छु भनेर सम्भव छ र ? न विचार, न लक्ष्य, न दृष्टिकोण भएका व्यक्तिहरुले राजा फर्कन्छन् भनेर हल्ला गर्नु झूट, बेइमानी र भड्काउने कुरा मात्र हो ।’
राजसंस्था फर्के मुलुकले अरु पाँच सय वर्ष दुःख पाउने दाबी गर्दै नेता पौडेलले त्यस्ता अराजक गतिविधि नियन्त्रणका लागी विधि र कानुनी बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो ।