काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आजको छलफल विनानिष्कर्ष टुंगिएको छ । कर्णालीमा देखापरेको समस्या सुल्झाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बिहान बालुवाटारमा छलफलमा बसेका थिए ।
छलफल निचोडमा पुग्न नसकेको बालुावाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशमा देखिएको समस्या समाधान गर्न आग्रह गर्नुभएको छ । स्थायी कमिटी बैठकको मर्म, भावना, सचिवालय बैठकको म्यान्डेटअनुसार समाधान हुनुपर्नेमा प्रचण्डले जोड दिनुभएको बताइएको छ ।
पूर्वमाओवादी केन्द्रका नेताहरूले केन्द्रका नेताहरूको निर्देशनअनुसारै प्रदेशका सांसद अविश्वासको प्रस्ताव दर्ता गर्ने तहमा पुगेकाले ओलीले नै यसको पहल लिनुपर्ने बताउँदै आएका छन् । पहल नलिए एकता नै भताभुङ्ग हुने, उनीहरुले चेतावनी समेत दिएका छन् ।