काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्द गर्ने सरकारको निर्णयको विरोध गर्नुभएको छ। आज सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालमार्फत शर्माले यो निर्णय गलत भएको बताउनु भएको हो ।
उहाँले सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै लेख्नु भएको छ,‘गर्धनमा पिलो आयो भने गर्धननै काट्ने कि जोखिम रहित उपचार खोज्ने ?’
टिकटकमार्फत द्वेष फैलाउनेलाई पहिचान गर्न र कानुन बनाएर बन्द गर्न आफूहरुको पनि समर्थन हुने भन्दै उहाँले एक/दुई गलत उदाहरण दिएर समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक भएको बताउनु भएको छ।
‘द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, नो कमेन्ट, तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ, यो निर्णय अविलम्ब फिर्ता होस्’ शर्माले लेख्नुभएको छ।