काठमाडौं । नेकपाले बनाएको कर्णाली प्रदेश सरकारप्रति नेकपाकै सांसदहरुले चरम असन्तुष्टि व्यक्त गर्दै सरकार ढलाउने कसरत शुरु गरेका छन् ।
उनीहरुले सरकार ढलाउन मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका विरुद्धमा बहुमतको हस्ताक्षर संकलन गरी अविश्वासको प्रस्ताव दर्ता गरेर सरकार ढाल्ने कसरत शुरु गरेका हुन् ।
मुख्यमन्त्री शाहीले प्रभावकारी काम गर्न नसकेको, संघियताको मर्म अनुसार प्रदेश सरकारको अस्तीत्व स्थापित गर्न नसकेको, जनतालाई सरकार भएको अनुभूती दिलाउन नसकेकोलगायतका कारणले अविश्वासको प्रस्ताव दर्ता गरिएको उनीहरुको भनाई छ ।
हस्ताक्षर संकलन र अविश्वासको प्रस्ताव दर्ताका लागि नेतृत्वदायी भूमिका खेल्नु भएका नेकपाका प्रदेश सभा सदस्य चन्द्र बहादुर शाहीले प्रदेश सरकारप्रति असन्तुष्टि बढेकाले प्रभावकारी सरकारका लागि प्रयास गरिएको बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भन्नुभयो, “अहिले मुख्यमन्त्री विरुद्धको अविश्वास हैन, प्रदेश संसदीय दलका नेताप्रतिको अविश्वास हो, उहाँमाथी अविश्वास व्यक्त गर्नु संसदीय दल र सांसदहरुको अधिकार हो ।”
उहाँले तत्काल मुख्यमन्त्री फेर्ने कुरा सिधै नबताएपछि अविश्वासको प्रस्ताव माथी अव छलफल गरेर त्यसका आधारमा आगामी कदम तय हुने बताउनुभयो ।
प्रदेश सभामा रहेका नेकपाका ३२ मध्ये १९ सदस्यले हस्ताक्षर गरेको उहाँले जानकारी दिनुभयो । ती मध्ये अधिकांश तत्कालिन नेकपा एमाले पक्षका रहेका छन । मुख्यमन्त्री शाही भने तत्कालिन नेकपा माओवादी पक्षका नेता हुनुहुन्छ ।
कर्णाली प्रदेशमा दर्ता भएको अविश्वासको प्रस्तावले देशभरी नै नेकपाका तत्कालिन एमाले र माओवादी पक्षका नेता कार्यकर्ताहरुकाबीचमा अविश्वासको तरंग फैलाएको छ ।