काठमाडौं। बेलाबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा आन्दोलन गर्ने बताईरहनु भएको हुन्छ आज पनि प्रचण्डले सो कुरा दोहोर्याउनु भएको छ । उहाँले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी पनि गर्नुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेको र अझै नयाँ आन्दोलनको शुरुवात गर्ने बताउनु भएको हो ।
पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको प्रधानमन्त्री प्रचण्डको दाबी छ। उहाँले राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको बताउनुभयो। अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्ने प्रधानमन्त्रीले सुनाउनु भएको छ । प्रधानमन्त्री दाहालले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएको बताउनुभयो । उहाँले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको बताउनुभयो ।
प्रचण्डले यसो बताईरहदा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश आँखाले देखेको भन्दा फरक र विकराल स्थितीमा हिडेको बताउनु भएको छ । उहाँले देशलाई दुर्घटनाबाट बचाउन ठुला राजनितीक दललाई अव नयाँ सम्झौता गरेर अगाडि बढ्नुपर्नेमा जोड समेत दिनुभएको छ ।
मुलुकमा विभिन्न वहस चलिरहदा प्रधानमन्त्री प्रचण्डले आजै मात्र केही मान्छेले लोकतन्त्र र गणतन्त्रमाथि तल्लो स्तरमा उत्रिएर प्रश्न उठाउने दुस्साहस गरेको टिप्पणी पनि गर्नुभएको छ । उहाँले लोकतन्त्र र गणतन्त्र माथि प्रहार भएको बताउनुभएको हो । मुलुकमा सङ्घीयता र गणतन्त्र आएदेखि नै त्यसलाई मन नपराउनेहरू उल्टाउने प्रयासहरू गर्दै आएको आरोप छ ।
परिवर्तनका उपलब्धिविरुद्ध प्रायोजित आक्रमण गर्न खोजिएकोे बताइरहँदा सरकारबाट जनअपेक्षाअनुरूप काम नभएकाले निराशा बढेको एकजना राजनीतिशास्त्रीले बताउनुभयो । प्रणालीविरुद्ध नभई राजनीतिक दलहरूको प्रवृत्तिविरुद्ध” जनताको आक्रोश देखिएको एकथरीको ठम्यार्ई छ ।
००००