काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति शेरबहादुर देउवालाई मुछेको भन्दै आपत्ति जनाएको छ ।
कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति देउवाको संलग्नताको आरोप प्रमाणित गर्न उनलाई चुनौतीसमेत दिएको छ । कांग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भनिएको भ्रष्टाचारको गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गरेको छ ।
गत बिहीबार भट्टराईले गृहजिल्ला गोरखा पुगेर प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्नुभएको थियो ।
कांग्रेसले केपी ओली नेतृत्वको सरकार गठन पछि बूढीगण्डकी परियोजनाको जिम्मा विवादास्पद विदेशी कम्पनीलाई सुम्पने तारतम्य अघि बढाइएको प्रकरणमा सार्वजनिक रूपमा निरन्तर रुपले कडा विरोध गर्दै आएको स्मरण पनि गराएको छ ।