काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले डा. गोविन्द केसी र संघीय सरकारबीच भएको सहमतिलाई स्वागत गरेको छ । उक्त ८ बुँदे सहमति इमान्दार ढंगले कार्यान्वयन गर्दै अघि बढ्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
सहमतिलाई सकारात्मक रूपमा लिएको बताउँदै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विगतमा सहमति उल्लंघन गरिएको नजीर दृष्टिगत गर्दै खबरदारी जारी राख्न अपिल गर्नुभएको छ ।
‘डा. केसी ले अघि सार्नुभएका मुद्दाप्रति वर्तमान सरकारको रवैया शुरुआत देखिनै पूर्वाग्रहपूर्ण थियो । जुम्ला अनशनपछि काठमाडौं आइपुग्दा दुव्र्यवहारपूर्ण व्यवहारदेखि वार्ता नै नगर्ने हठसम्म प्रस्तुत गर्ने सरकार चौतर्फी दबाबपछि अन्ततः वार्ता समिति बनाउँदै सहमतिमा पुगेको छ।’ कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।
वर्तमान प्रधानमन्त्रीको अग्रसरतामा ०७५ साउन १० गते डा. के.सी.सँग गरिएको सहमति सोही वर्षको माघ महिनामा सरकारले उल्लंघन गरेको कांग्रेसको ठहर छ ।
डा. केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति भएसँगै आज बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उहाँले अनसन तोड्नुभएको छ । डा. केसीले कोरोना संक्रमण भएर निको भएका त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोड्नुभएको हो ।
विज्ञप्ति हेर्नुस्
