काठमाडौं । २०८० बैशाख २४ गतेदेखि शुरु संघीय संसदको चालू अधिवेशन आजबाट अन्त्य भएको छ । झण्डै सात महिना चलेको अधिवेशनमा गर्न सकिने धेरै काम भएपनि निरन्तरको अवरोध र दलहरुबीचको मतभेदले ओझेलमा परेका छन् । मिटरब्याज सम्बन्धि विधेयक र नागरिकता सम्बन्धि विधेयकबाहेक देखिने उपलब्धि भएनन् । केही विधेयकहरु संसदमा टेबल भएका छन् भने अब आउने हिउँदे अधिवेशनमा कानुन बन्ने प्रक्रिया शुरु हुनेछ ।
चालु अधिवेशनले बजेट र बजेट आश्रित विधेयकहरु पनि पारित गरेको छ । १६ वटा विषयगत समितिमध्ये १० वटा गठन भएका छन् । चार वटा राष्ट्रिय सभाका पहिले नै गठन भएका थिए । दुई वटा संयुक्त समिति गठन हुन सकेको छैन । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र नेपालको संविधान २०७२ ल्याउने दलहरु बेठीक भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको छ ।
जनयुद्ध दिवस मनाउने सरकारको निर्णयलाई लिएर नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल र नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको सवाल–जवाफ भएको छ । जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन पौडेलले गरेको आग्रहमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदको काम ज्यादै कमजोर र अप्रभावकारी भएको बताउनुभएको छ । बजेट अधिवेशन सुरु भएयताको ६ महिनामा बजेट पारित गर्नेबाहेक जम्मा एउटा मात्र कानुन पास गरेको भन्दै उहाँले संसदको काम भन्दा आफू सञ्चारकर्मी हुँदा नै बढी काम गरेको दाबी गर्नुभयो ।
देशमा विकासले गति लिनै नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दाबी छ । आफूले हिड्ने बाटो समेत मर्मत हुन नसकेको भन्दै नेपालले ठेकेदार राजनीतिक संरक्षणमा पालिएको आरोप लगाउनुभयो ।
संसदको वर्षे अधिवेशन व्यर्थैमा बितेको टिप्पणी पनि शुरु भएको छ । सुशासन, समृद्धि र समाजवादका विषयमा वकालत गर्ने दलहरुको आफ्नै दोहोरीले संसद अमर्यादित बन्दै गएको छ । जनताका विषय मुखरित भन्दा पनि आआफ्ना कुण्ठा पोख्ने थलो संसद बनेको छ । अब शुरु हुने हिउँदे अधिवेशनको सत्रमा बाँकी कार्यभार सरकारले सहजै सम्हालन सक्छ की सक्दैन हेर्न बाँकी छ ।