काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन पाँचै वर्ष टिक्ने दाबी गर्नु भएको छ। नेपाली रेडियो नेटवर्ककको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा राम्रो समझदारी रहेकोले सत्ता गठबन्धन टिक्ने दाबी गर्नुभएको हो।
उहाँले भन्नुभयो,“गठबन्धनमा राम्रो समझदारी छ। देउवाजीसँग सबभन्दा भरपर्दो सम्बन्ध छ। यो गठबन्धन टुट्दैन भन्नेमा मलाई शतप्रतिशत विश्वास छ। देउवाजी सरकार ढाल्न लाग्नुहुन्न। अहिले एमाले र कांग्रेस मिल्न सम्भव नै छैन्। यो गठबन्धन, अहिले जसरी बजारमा हल्ला छ, त्यस्तो हुँदैन् ।”
यसअघि कतिपय नेताहरुले सार्वजनिक रुपमै सरकार बैशाख टेक्न नपाउने भनेर बोलेको कुरा स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले सरकारबारे यस्ताखाले हल्ला आउनु सामान्य भएको जिकिर गर्नुभयो । उहाँले एमालेलाई सरकारमा सहभागी गराउने भन्दापनि विद्येयकहरु टुँगो लगाउनको लागि सबैलाई विश्वासमा लिएर जान खोजेको स्पष्ट पार्नुभयो ।