काठमाडौं । सरकारले संसद्को जारी वर्षे अधिवेशन अन्त्यको तयारी गरेको छ । बिहीबार बिहान ११ बजे प्रतिनिधि सभाको वर्षे अधिवेशनको अन्तिम बैठक बस्ने माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले जानकारी दिनुभयो ।
बुधबार सभामुख देवराज घिमिरेको नेतृत्वमा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । जसमा बिहीबार बिहानको प्रतिनिधि सभा बैठकमा दलका प्रमुख नेताहरुले सम्बोधन गर्ने लगायतका कार्यसूचीको बारेमा छलफल भएको थियो ।
अधिवेशन अन्त्यको दिन दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरु टेबुल गरिने, सभामुखले १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने लगायतका कार्यसूची रहनेबारे छलफल भएको छ ।
एउटा अधिवेशन र अर्को अधिवेशनको बीचमा यति समय खाली राख्नुपर्छ भन्ने कुनै व्यवस्था नभएकोले संसद्को वर्षे अधिवेशन अन्त्य भएपनि आवश्यकताका आधारमा सरकारले हिउँदे बैठक आह्वान गर्न सक्ने माओवादी प्रमुख सचेतक पाण्डेले बताउनुभयो ।