काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति नेता रवि लामिछानेले आगामी निर्वाचनमा राजनीतिक दलहरूबिच गठबन्धन बनाउन नपाउने कानुन बनाउनुपर्ने बताउनु भएको छ।
आज प्रतिनिधि सभाअन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलका क्रममा लामिछानेले यस्तो कानुनी प्रावधान राख्न आवश्यक रहेको बताउनु भएको हो।
उहाँले भन्नुभयो,‘चुनावपछि सरकार बनाउन दलहरूबिच गठबन्धन हुनु सामान्य कुरा हो तर चुनाव जित्नकै लागि गठबन्धन बनाउने कुरा त राजनीतिक कार्टेलिङ भयो। एउटा दलको व्यक्तिले अर्को दलको चुनाव चिन्ह लिएर समेत चुनाव लडेको छ। अबको चुनावमा गठबन्धन बनाएर चुनाव लड्न नपाउने कानुनी व्यवस्था गर्न आवश्यक छ।’
उहाँले निर्वाचन आयोगले बनाउन लागेको एकीकृत निर्वाचन कानुनको मस्यौदामा सर्वोच्च अदालतले जारी गरेको आदेश अनुसारको नो भोट(राइट टु रिजेक्ट)को व्यवस्था राख्न समेत माग गर्नुभयो ।
उहाँले २०३५ सालको जनमत सङ्ग्रहको बेला पेरिसमा रहेका नेपालीले समेत मतदानको अवसर पाएको बताउँदै अहिलेको समयमा यसको प्रबन्ध गर्न नसकिने भन्ने प्रश्न नै नरहेको जिकिर गर्नुभयो। यस्तै विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्ने कानुनी व्यवस्था गर्नुपर्नेमा पनि लामिछानेको जोड छ ।