काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’,प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। संक्रमणकालीन न्यायको विषयमा शीर्ष नेताहरुका बिचमा छलफल गर्न बालुवाटारमा भेटवार्ता भएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुनको विषयमा अधिकांश रूपमा सहमति जुटिसकेकोले केही नमिलेको विषय राजनीतिक रूपमा टुंग्याउनुपर्ने भएपछि शीर्ष नेतृत्व नै छलफलमा जुटेका हुन्। उहाँहरुबिचमा झण्डै २ घण्टा त्रिपक्षीय छलफल भएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्को शान्ति तथा मानव अधिकारमा समितिमा छ। समितिले उपसमिति बनाएर अधिकांश विषयमा सहमति गरेका छन्। उपसमितिले सहमतिमा नै प्रतिवेदन तयार गरेको छ। राजनीतिक तहमा टुंग्याउनु पर्ने विषय मात्रै टुंगिन बाँकी छ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा र एमालेका सचेतक महेशकुमार बर्तौला पनि राजनीतिक तह टुंग्याउनु पर्ने विषयमात्रै बाँकी रहेको दाबी गर्दै आएका छन्। युद्ध सुरु भएको दिनलाई प्रचण्डले जनयुद्ध दिवसको रूपमा सेलिब्रेसन गर्ने जस्ता कामले पीडितहरू चिन्तामा रहेको एमालेको दाबी छ।
नेपाल भ्रमणमा रहेका बेला राष्ट्रसंघका महासचिव गुटेरेसले पनि शान्तिप्रक्रिया टुंगो लगाउन सरकार र राजनीतिक दललाई कूटनीतिक दबाब दिनुभएको थियो ।