काठमाडौं । नेपाली काँग्रेसकी प्रभावशाली नेतृ डा डिला संग्रौलाले सरकारी नियुक्तिमा काँग्रेसले भाग खोज्ने नभई राम्रा मान्छे नियुक्तिका लागि दवाव दिनु पर्ने बताउनु भएको छ ।
सरकारले राज्यका निकायहरुमा नियुक्त गर्दाराजनीतिक पुर्वाग्रहका आधारमा गरेको छ भने त्यस्तो नगर्न प्रतिपक्षले दवाव दिनु पर्ने उहाँको भनाई छ ।
“सक्षम र योग्य हुदाँ हुदै पनि सरकारले उनीहरुलाई अन्याय गरेर आफ्ना समर्थकलाई मात्रै नियुक्त गरेको छ भने त्यस्तोमा काँग्रेसले आवाज उठाउन सक्छ,” डा संग्रौलाले भन्नुभयो ।
संवैधानिक र तटस्थ निकायहरुमा तटस्थ र सक्षम तथा योग्य व्यक्तिहरु नियुक्त गर्नकै लागि संवैधानिक परिषद्मा प्रतिपक्षी दलको नेता सदस्य रहने व्यवस्था रहेको उहाँले तर्क गर्नुभयो।
उहाँले भन्नुभयो, “कतिपय ठाउँमा सरकारले आफ्नो कार्यकर्ता वा समर्थक मात्रै नियुक्त गर्न सक्छ, तर कतिपय ठाउँ यस्ता छन्, जहाँ राजनीतिक आस्था वा दलिय आवद्धता हुन नहुने र योग्यता र क्षमताका आधारमा मात्रै नियुक्त गर्नुपर्ने हुन्छ, त्यस्तोमा पनि सरकारले राजनीति गरेकाले काँग्रेसले खवरदारी गरेको हो ।”
काँग्रेसले हाम्राभन्दा राम्रा नियुक्तिका लागि सरकारलाई दवाव र सुझाव दिने भुमिकामा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
नेपाली नेटवर्कसँगको कुराकानीका क्रममा उहाँले डा गोविन्द केसीसँग सम्झौता भएकोमा काँग्रेस पार्टी मात्रै नभई सवै नेपाली जनता खुशी भएको बताउनुभयो ।
डा केसीले जनताको माग उठाएकाले उहाँको मागमा सहमती हुनु जनताका लागि खुशीको कुरा भएको डा सङ्गौलाको भनाई छ ।