काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एमालेबिना कोशीमा सरकार गठन सम्भव नरहेको बताउनु भएको छ।केन्द्रीय सत्ता गठबन्धनमा रहेको मुख्य घटक माओवादी केन्द्रले कोशी सरकारबाट एमालेलाई हटाउन दबाब दिएपछि मुख्यमन्त्री कार्कीले आज यस्तो प्रतिक्रिया दिनुभएको हो।
एमालेको समर्थनमा आफू मुख्यमन्त्री भएको भन्दै कार्कीले कोशी प्रदेशको अङ्क गणितका आधारमा आफूले एमालेलाई सरकारबाट बाहिर राख्न नसक्ने जवाफ फर्काउनु भएको हो। एमालेसँगको आजको वार्तामा पनि मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘एमालेविनाको सरकार गठन गरौं भनेर दबाब आएको छ। मैले स्पष्ट रूपमा भनेको छु–कोशी प्रदेशमा एमालेविना सरकार चल्न सक्दैन।’
गत असोज २७ गते एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरको आधारमा मुख्यमन्त्री नियुक्त हुनुभएका काङ्ग्रेस शेखर समूहका नेता कार्कीमाथी केन्द्रीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले एमालेविनाको मन्त्रिपरिषद् विस्तार गर्न निरन्तर दबाब दिँदै आएका छन्।यद्यपी मुख्यमन्त्री नियुक्त भएपछि कार्कीले एमाले र काङ्ग्रेसबाट मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।