काठमाडौं। देशको राजनितिमा अहिले नयाँ र पुराना दलहरुबीच आरोप प्रत्यारोपको भाषण सुरु भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिजो शनिवार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै २०८४ को निर्वाचनमा अन्य पार्टीहरुले १ सिट पनि नपाउने दाबी गर्नुभएपछि ठुला दलका शिर्ष नेता एकैठाँउमा उभिएर सो भनाईको खण्डन गरेका छन्। लामिछानेले आउने चुनावमा अन्य कुनैपनि दललाई एक सिट पनि जित्न नदिने जिकिर गर्नुभएको थियो।
त्यस लगत्तै हिजो नेपाली कांग्रेसले सानेपामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा ठुला राजनितीक दलका शिर्ष नेताहरु लामिछानेको भनाई प्रति आपत्ति जनाउदै एकै ठाँउमा उभिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्ति रविको भनाईप्रति लक्षित थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा अराजकता सृष्टि गर्ने उद्देश्यका साथ राजनीतिक दलहरुमाथि प्रश्न उठाउने गरिएको उल्लेख गर्दैे सम्पूर्ण राजनीतिक दल एक ठाउँमा उभिएर त्यस्ता प्रवृत्तिलाई गतिलो जवाफ दिने तयारी भइरहेको बताउनुभयो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको बताउनुभयो । दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई सकारात्मक लिएको देउवाको भनाई थियो ।नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलमाथि प्रश्न उठेको नभई उठाउने प्रयास मात्र गरिएको सोहि अवसरमा बताउनु भयो ।
ओलीले आफूहरूले यथासमयमा यसको जवाफ दिने जिकिर गर्नुभयो ।यता,जनता समाजवादी पार्टीका नेता एवं सांसद प्रदीप यादवले रवि लामिछानेको फेसबुक र टिकटक राजनीति लामो समयसम्म चल्न नसक्ने दाबी गर्नुहुन्छ। नेता यादवले ‘रास्वपाले फेसबुकिया र टिकटकिया राजनीति गरेर जनमतलाई गुमराहमा पारेको नेपाली रेडियो नेटवर्कसंग भन्नुभयो।
चुनाव आउन अझै ४ बर्ष बाँकी छ। तर दलहरुबीच एकअर्कालाई कटाक्ष गर्ने र तल पार्ने भनाई आईरहेका छन् यस्तो अवस्थामा बोल्ने भन्दा पनि जनातामाझ कसरी राम्रो काम गरेर देखाउने भन्नेतर्फ दलहरुले सोच्नुपर्ने बेला आएको छ।