काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि असोज २६ गते बैठक बसेको थियो दुई साताभन्दा बढी समयको अन्तरालपछि बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र तथा संयुक्त राष्ट्रसंघ महासचिवको सम्बोधनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै परराष्ट्रमन्त्री एनपी साउदले बिमस्टेक बडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ ।