काठमाडौं। दसैं, तिहार, छठ पर्व लगायतका पर्वहरूको उपलक्ष्यमा नेपाली कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । चियापानमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो ।
चियापानमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता सहभागी हुनुभएको थियो ।
चियापनमा सहभागी हुन पुगेका पाहुनलाई कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले स्वागत गर्नुभएको थियो । चियापानमा सहभागि हुनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ले बीपीले सुरू गरेको चियापानको संस्कृतिले दलहरूप्रति आपसी एकतालाई अभिप्रेरित गरेको बताउनु भयो । यसले देशको राजनीतिलाई स्थिरतातर्फ लैजाने, सहमति र सहकार्यको बाटोमा लैजान मद्दत गरेको पनि प्रधानमन्त्रीले बताउनुभयो ।
चियापान समारोहमा प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरुले लड्नुपर्ने विषय साझा भएको बताउनुभयो । नेपाली जनताहरुको सन्दर्भमा मेलमिलापको सान्दर्भिकता कहिल्यै नहट्ने उहाँको भनाई थियो ।
चियापानमा राजनीतिक दलका नेता, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायी, बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, सञ्चारकर्मी, गैरआवासीय नेपालीका संघ–संस्थाका प्रमुखहरूलाई आमन्त्रण गरिएको थियो ।
कांग्रेस सदस्य एवं शुभेच्छुकसहित सर्वसाधारलाई सार्वजनिक रूपमा आमन्त्रण गरिएको पार्टीले जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता प्रकासशरण महतले सद्भावको सन्देश स्वरुप सबै पार्टी जनताको लागि एक ठाँउमा छौ भन्ने सन्देश चियापान कार्यक्रमबाट गएको बताउनुभयो ।
बीपी कोइरालाले ०३४ सालमा कोजाग्रत पूर्णिमाका दिन सुरु गरेको चियापानलाई विशेष अवस्थामा बाहेक कांग्रेसले हरेक वर्ष निरन्तरता दिएको छ ।०३३ साल पुस १६ गते बीपी ‘राष्ट्रिय मेलमिलाप नीति’ लिएर स्वदेश फर्किनु भएको थियो । त्यति बेला राजाले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएका थिए ।
बीपीले राजनीतिक दलका नेताहरू र सर्वसाधारणले एकसाथ भेट्न मिल्ने गरी कोजाग्रत पूर्णिमाका दिन चियापान आयोजना गर्न सुरु गर्नुभएको थियो । त्यसयता कांग्रेसले कोजाग्रत पूर्णिमाकै दिन संस्कृतिका रूपमा चियापान आयोजना गर्दै आएको छ ।